काठमाडौं । अल नेपाल थग फेमिली (एएनटिएफ)ले आयोजना गरेको र्याप ब्याटल हुड बाजीमा भिडेका जि बब र माइलाको ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ।
डेढ महिनाअघि सार्वजनिक भएको र्याप ब्याटलमा शुक्रबार एक करोड भ्युज पुगेको हो।
आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल मानिन्छ। उक्त ब्याटललाई युट्युबमा १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। जि बब र माइलाको ब्याटल युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने दोस्रो नेपाली र्याप ब्याटल बनेको हो।
एएनटिएफको दोस्रो राउण्डमा आमनेसामने भएका जि बब र माइलाको ब्याटल फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो।
हिपहप संगीतका पारखीहरूले उक्त ब्याटललाई ऐतिहासिक ब्याटल मानेका छन्। सोही ब्याटलका कारण एनटिएफका अन्य ब्याटलमा पनि दर्शक आकर्षित भएका छन्। साथै‚ जि बब र माइलालाई नेपाली हिपहप संगीतका उदीयमान नक्षत्रको रूपमा पनि हेरिएको छ।
तीन राउण्डमा खेलाइने ब्याटलमा विजेता चुन्न गाह्रो भएपछि निर्णायकले अर्को एउटा राउण्ड थपेका थिए। जसबाट जि बबलाई विजेता घोषित गरिएको थियो। यतिबेला हुड बाजीको तेस्रो राउण्डका सबै ब्याटल प्रसारण भइसकेका छन् भने सेमिफाइनल राउण्डका ब्याटल प्रसारणको तयारीमा एएनटिएफ रहेको छ।