
हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्मका चर्चित जोडी हुन्, दयाहाङ राई र विजय बराल । ‘कबड्डी’ श्रृंखलामा काजी र बिकेका रूपमा उनीहरूको केमेस्ट्री दर्शकले निकै रुचाएका थिए । तर, दयाहाङसँगका प्रायः फिल्ममा विजय सहायक भूमिकामा मात्र देखिएका छन् । कात्तिक ६ गतेदेखि प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’मा भने उनीहरू दुवै मुख्य भूमिकामा छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस फिल्मका पोस्टर र टिजरमा दयाहाङ र विजय दुवैलाई उत्तिकै स्थान दिइएको छ । प्रचार सामग्रीमा उनीहरूबीचको आपसी नोकझोंक र प्रतिस्पर्धा मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथा अस्तित्वको संघर्षमा आधारित रहेको संकेत गर्छ । यद्यपि, निर्माण पक्षले फिल्मको कथाबारे केही खुलाएको छैन ।
दुई साताअघि सार्वजनिक भएको ‘न्यौली वनैमा’ बोलको गीतमा विजय बराल र समृद्धि अर्यालको जोडी देखिएको थियो । त्यसमा दयाहाङ भने देखिएनन् । यसले दर्शकमाझ फिल्मको ‘मुख्य हिरो को हो ?’ भन्ने जिज्ञासा पैदा गरेको छ । किनकि, हरेक फिल्ममा एउटा पात्र कथाको केन्द्रमा हुन्छ । ‘वरिष्ठ बलराम’मा त्यो पात्र दयाहाङ वा विजयमध्ये को हो ? अहिलेसम्म खुलेको छैन ।
जे होस्, प्रायः फिल्ममा दयाहाङको साथीको भूमिकामा देखिएका विजयले ‘वरिष्ठ बलराम’मा दयाहाङसँगै घम्साघम्सी गरेको हेर्न दर्शकलाई रोचक अनुभव हुनेछ । फिल्मको टिजर हेर्दा दयाहाङ ठेकदार वा नेताको भूमिकामा रहेको देखिन्छ भने विजय गाउँको सन्की स्वभावको युवकको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
यो फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । मनकृष्ण महर्जनको छायांकन रहेको यो फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् ।