
नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् । ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,’ समृद्धि भन्छिन्, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’
विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले फिल्ममा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको बताएकी छन् । ‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,’ उनी भन्छिन् ।
पहिलो फिल्म ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।
आफ्नो फिल्म करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्, “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।”
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।