
चर्चित नेपाली फिल्म ‘कबड्डी’ को पाँचौं श्रृंखलाको छायांकन मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ । छायांकनको एक दिनअघि मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’ को उपस्थितिमा शुभसाइत पूजा सम्पन्न गरिएको छ । कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ७० प्रतिशत छायांकन मुस्ताङमा र बाँकी काठमाडौंमा हुने तालिका रहेको छ ।
३५ दिनको छायांकन अवधिमा निर्माण हुने यो फिल्ममा पुराना र नयाँ कलाकारको संयोजन रहनेछ । यसअघिका श्रृंखलाबाट चर्चित दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणी नेपाल र अरुणा कार्की यस भागमा पनि देखिनेछन् । नयाँ श्रृंखलामा विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ महत्वपूर्ण भूमिकामा अनुबन्धित भएका छन् ।
रामबाबु गुरुङको लेखन, निर्माण र निर्देशनमा बन्न लागेको यो फिल्म बाँसुरी फिल्म्स प्रालिको ब्यानरमा तयार हुँदैछ । ‘कबड्डी’ का अघिल्ला चारवटै श्रृंखलाले नेपाली बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेका थिए ।