
गत वर्ष प्रदर्शन भएको फिल्म ‘तेल भिसा’का निर्माता तथा मेनपावर व्यवसायी शिवराज कार्की पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा उनी पक्राउ परेका हुन् ।
अमेरिकासहित विभिन्न देश पठाइदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध तीन महिनाअघि नै उजुरी परेको थियो । गत भदौ ४ गते वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ पुर्जी जारी भएपछि उनी भारतमा रेस्टुरेन्ट खोलेर लुकिछिपी बस्दै आएका थिए ।
प्रहरीका अनुसार कार्कीले प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म असुल गरेका थिए । उनले २०० देखि २५० जनासम्मलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको र हालसम्म १०० जनाभन्दा बढी पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ । उनीविरुद्ध यसअघि प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो ।
शिवराजले फरार हुनुअघि काठमाडौंको चाबहिलमा ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ सञ्चालन गर्दै आएका थिए । सोही भिसा कन्सल्टेन्सीको आडमा उनले मानिसहरूलाई विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम पठाउने गरेका थिए । चलचित्र निर्माता संघका साधारण सदस्य समेत रहेका उनले ‘तेल भिसा’भन्दा अगाडि फिल्म ‘चि मुसी चि’ बनाएका थिए ।
‘तेल भिसा’ प्रदर्शनको संघारमा रहँदा यसका निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेमाथि पनि ठगीको आरोप लागेको थियो । अमेरिका लैजाने प्रलोभन देखाएर रकम असुल गरेको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नगरेको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी नै दर्ता भएको थियो ।