
निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छायांकन काभ्रेको पनौतीबाट शुभमुहूर्तसहित सुरु गरेका छन्। करिब साढे तीन करोड लगानीमा तयार हुन लागिरहेको फिल्मको मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन थालिएको हो।
६० दिनको सेड्युलमा खिचिने फिल्मका लागि पनौतीमा भव्य सेट तयार गरिएको छ। त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन हुने बताइएको छ।
‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै कथा निरन्तरता पाउने यस फिल्मलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायतका कलाकारको अभिनय रहनेछ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।
बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमामा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।