
चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशकीय फिल्म ‘गोबर गणेश’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई स्थान दिइएको छ । दुवै खुसी मुद्रामा देखिएका छन् । यसले फिल्ममा उनीहरूको प्रेम सम्बन्धलाई संकेत गर्छ ।
वर्षा साइकल जडित रिक्सा चलाइरहेकी छन् भने त्यसमा मरिचमान बसेका छन् । घाँटीमा सिट्टी झुन्ड्याएका उनी नगरपालिकाको फोहोर उठाउने कर्मचारी जस्ता देखिन्छन् । पृष्ठभूमिमा सहरका बाक्ला घरहरू छन् । निर्माण पक्षले पोस्टरमार्फत फिल्मका मुख्य पात्रको संघर्ष र प्रेम सम्बन्धलाई प्रकाश पार्ने प्रयास गरेको देखिन्छ ।
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा मरिचमान र वर्षासहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा शिवराम श्रेष्ठको डीओपी तथा विपिन मल्लको सम्पादन छ ।