
गत वर्षको ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’ रिलिजपछि निर्मात्री तथा अभिनेत्री केकी अधिकारी र निर्देशक सुरक्षण भारतीको सम्बन्ध चिसिएको थियो । भारतीले फिल्म रिलिजको केही दिनपछि सामाजिक सञ्जालमा केकीप्रति लक्षित गर्दै ‘काम गर्ने कालु माम खाने आलु’ भनेका थिए । उनीहरूको सम्बन्ध चिसिँदा ‘बोक्सीको घर २’को निर्माण नै अन्योल बनेको थियो ।
तर, करिब एक वर्षपछि केकी र सुलक्षणबीच पुनर्मिलन भएको छ । उनीहरूले नयाँ फिल्ममा सहकार्य गर्ने निधो गरेका हुन् । फिल्मको नाम ‘पेट्रोल पम्प’ राखिएको छ । मंगलबार केकीले सामाजिक सञ्जालमार्फत फिल्म निर्माणको घोषणा गरेकी हुन् । फिल्ममा केकीको लगानी रहनेछ भने निर्देशन भारतीले गर्ने । यसमा लेखन पनि उनी स्वयंको छ ।
फिल्मको घोषणा गर्दै केकीले भनेकी छन्, ‘हामीले ‘बोक्सीको घर’ रिलिजको समयमा कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ । त्यो समय अहिले ‘पेट्रोल पम्प’मार्फत आएको छ । कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो ।’
सामाजिक कथामा बन्ने यो फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ । फिल्ममा को-को कलाकार हुनेछन् भन्नेबारे निर्माण पक्षले खुलाएको छैन । यद्यपि, फिल्ममा केकीको मुख्य भूमिका रहने निश्चित छ । ‘पेट्रोल पम्प’पछि केकी र सुरक्षण ‘बोक्सीको घर २’को निर्माणमा जुट्नेछन् । यसको अघिल्लो श्रृंखलाले घरेलु बक्स अफिसमा ११ करोडको व्यापार गरेको थियो ।