
अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’मा निर्देशक हेरफेर भएका छन् । गत बैशाख १ गते फिल्मको निर्माण घोषणा हुँदा निर्देशकमा विकास सुवेदी थिए । साउनमा छायांकनका लागि विकास र पलसहितको टिम बागलुङको ढोरपाटन समेत पुगेको थियो । तर, अन्तिम समयमा निर्माता र निर्देशकबीचको अन्तरिक मतभेदका कारण फिल्मको सम्पूर्ण काम रोकियो ।
अब यो फिल्ममा विकासको ठाउँमा अर्का निर्देशक ओम प्रतीक भित्रिएका छन् । ओम तिनै निर्देशक हुन्, जसले पललाई ‘मोहर’ जस्तो हिट फिल्म दिएका थिए । यो फिल्मपछि उनीहरूबीच आत्मीय सम्बन्ध बनेको छ । सोमबार ओमले फेसबुकमा पलसँग कागजी सम्झौतापछि खिचेको एक तस्वीर पोस्ट गर्दै आफूले ‘यानीमाया’ निर्देशन गर्न लागेको जानकारी दिएका छन् ।
यो फिल्मलाई विकासले निर्देशन गर्ने तय हुँदा पलको जोडीको रूपमा मोडल अञ्जना पुन मगरलाई अनुबन्धित गरिएको थियो । विकासले अडिसनबाट उनलाई छनोट गरेका थिए । अब निर्देशक परिवर्तन भएसँगै फिल्ममा अञ्जना हुन्छिन् वा हुँदिनन् भन्ने चासो धेरैमा देखिएको छ । तर, यसबारे निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्ममा पलको भने मुख्य भूमिका रहनेछ । उनको कम्पनी पल शाह फिल्म्सको ब्यानरमा फिल्म बन्नेछ भने निर्मातामा चन्द्रज्योति आले पनि रहेकी छिन् । पलले यही फिल्मबाट निर्माणमा हात हाल्न हालेका हुन् । यसअघि उनले आफ्नो कम्पनीबाट केही म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । अब उनी आफ्नो ब्यानरबाट निरन्तर फिल्म बनाउने योजनामा छन् ।