
गत माघ १६ गते प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा अभूतपूर्व व्यापार गर्यो । यसले प्रदर्शनको ५१ दिनसम्ममा १३ करोडमाथि कमाइसकेको छ । तर, यसपछि प्रदर्शनमा आएका नेपाली फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । अघिल्लो साता प्रदर्शन भएको फिल्म ‘लालिमा’ पनि व्यापारिक रूपमा निकै कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डले सोमबार साप्ताहिक रुपमा सार्वजनिक गर्ने बक्स अफिस तथ्यांकमा उक्त फिल्मको ९ दिनको व्यापार ६ लाख पनि पुगेको देखिँदैन । बोर्डको तथ्यांक अनुसार फिल्मले गत शनिबार (७ चैत)सम्म ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका २ हजार ४० वटा मात्र टिकट बिक्री भएका छन् ।
‘लालिमा’ले अपेक्षित व्यापार गर्न नसकेपछि धेरै हलले आइतबार नै फिल्मलाई उतारेका थिए । बिहीबारबाट ‘धुरन्धुर २’ रिलिज भएसँगै दोस्रो सातामा फिल्मको देशव्यापी शो एउटा मात्र छ । यसको मतलब फिल्म डिजास्टर बनेको छ । फिल्मको ९ दिनको कमाइबाट निर्माताको हातमा बढीमा १ लाख पर्ने देखिन्छ । जबकि, फिल्मको लागत नै एक करोडमाथि रहेको बताइएको छ ।
बोर्डले ‘लालिमा’सँगै ‘आ बाट आमा’को पनि शनिबारसम्मको व्यापार सार्वजनिक गरेको छ । जसअनुसार यो फिल्मले १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मका ५ लाख ३ हजार ११४ वटा टिकट बिक्री भएका छन् । यस वर्ष १३ करोडमाथिको व्यापार गर्ने यो दोस्रो फिल्म हो । यसअघि ‘परान’ले १७ करोडभन्दा बढी कमाइ गरेको थियो ।