Todays Date: २०८२ मंसिर २८

कुलमान घिसिङलाई हटाएपछि कलाकारहरुले गरे विरोध

486014467 1208293157324414 310244472859801064 n

देशलाई लोडसेडिङबाट मुक्त गराएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ । नेतादेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत कुलमानलाई हटाइएकोमा आपत्ति जनाएका छन् ।

अभिनेता हरिवंश आचार्यले फेसबुकमा कुलमानसँगको एक तस्वीर सेअर गर्दै लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ उनको स्टाटसको कमेन्टमा धेरैले सरकारको आलोचना गरेका छन् । कसैले ‘सालोको अगाडि कुलमान कालो’ भन्दै व्यंग्य गरेका छन् भने कसैले कुलमान हट्नु देशको लागि दुर्भाग्य भन्दै दुःख व्यक्त गरेका छन् ।

कुलमानलाई हटाइएकोमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि सरकारप्रति व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ उनले स्टाटसको कमेन्टमा आफैंले गाएको ‘मन्त्रीज्यूको सालो’ गीतको सानो अंश पनि राखेका छन् ।

त्यस्तै, निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अब भ्रष्टहरुको पतन कसैले रोक्न नसक्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन । अब धेरै भयो ।’ उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि फेसबुकमा कुलमानको तस्वीर राख्दै ‘गणतन्त्र !’ भनेर लेखेकी छन् ।

अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले कुलमानलाई प्राधिकरणबाट निकाल्नेले कालो दिन देख्नेछ भनेर फेसबुकमा उल्लेख गरेकी छन् । अभिनेता तथा कमेडियन हिमेश पन्तले सरकारको काम बत्ति बालेर खोज्दा पनि नभेटिएकाले कुलमानलाई हटाएको भन्दै व्यंग्य गरेका छन् । अभिनेताहरु कृष्ण मल्ल, रमेश उप्रेती लगायतले पनि कुलमानलाई हटाइएकोमा विरोध जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x