Todays Date: २०८२ माघ ११

‘यो मन त मेरो नेपाली हो’ एउटा अभियान हो : निर्देशक प्रधान

image

नेपाली जीवन मुग्लाने जीवन हो। यही मुग्लाने जीवनले नेपालीहरूलाई संसारका कुनाकुनासम्म पुर्‍याएको छ। नेपालबाहिर रहेका नेपालीहरूले नेपाललाई सधैं पितृभूमिका रूपमा मनमा सजाएका छन्। नेपाली भाषा, संस्कृति र संस्कारले नेपालसँगको साइनो टुट्न दिएका छैनन्। संसारभर पुगेका नेपालीहरूले आ–आफ्नै किसिमका दुःख भोगेका छन्। यस्ता अनेक भोगाइका बीच पनि नेपाल र नेपालीपनाप्रतिको स्नेह कायम छ।

राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए। नेपाल आउँदा उनी साढे १० वर्षका थिए। त्यसपछि १६–१७ वर्ष यहीँ बसे; सबै पढाइ, लेखाइ र हुर्काइ नेपालमै भयो। भुटानमा हुँदा गाउँ पूरै नेपाली थियो; संस्कार, संस्कृति सबै नेपाली नै मानिन्थ्यो। नेपाल आएपछि त्यो झनै गहिरो बन्यो। तर अमेरिका पुगेपछि व्यस्तताले गर्दा त्यो सम्बन्धमा दूरी महसुस भयो। यही दूरीले उनको मनमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने तिर्खा जागृत गरायो। उनलाई लागिरहन्थ्यो — “हामीले जोगाएनौं र सिकाएनौं भने त भावी पुस्ताले यो धरोहर नासिनेछ।” विदेशमा रहे पनि, जति दुःख भोगे पनि, यो पक्ष जोगाएकै थिए। यदि यो मेटियो भने पुर्खाको आत्माले शान्ति पाउँदैन र भावी पुस्ताले यसको मूल्य बुझ्न सक्दैन।

यही सोचले उनले ‘यो मन त मेरो नेपाली हो’को कथा लेखे। उक्त कथाले फिल्मको रूप लिइसकेको छ र यही असार २७ गते प्रदर्शन हुँदैछ। उनी फिल्मका निर्देशक समेत हुन् । फिल्म उनले मनदेखि बनाएका हुन्, सकेसम्म आफ्नो सोचलाई पर्दामा उतार्न प्रयास गरेका छन्। यसरी मनदेखि बनाएको उनको यो फिल्मलाई नेपालको पाठ्यक्रम विकास केन्द्रसमेतले ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त भनेको छ । यसले उनलाई थप उर्जा प्रधान गरेको छ । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी:

‘यो मन त मेरो नेपाली हो’ खासमा के हो?

यो एउटा अभियान हो। नेपाल र नेपालबाट संसारका विभिन्न ठाउँमा पुगेका नेपालीहरूको आस्था र विश्वासको धरोहर हो। नेपालीहरू हिजो पनि विदेशिएका थिए, आज पनि त्यो क्रम जारी छ। अहिलेको भूमण्डलीकरणले नेपालीहरूलाई हाम्रो भाषा–संस्कृतिबाट अलिक पर राखेको छ कि, वा बिर्सन थालेका त होइनन् भन्ने प्रश्न उठ्छ। हाम्रा पूर्खाले जगेर्ना गरेर छाडेको सम्पदालाई हामीले भावी पुस्तालाई सुम्पनुपर्छ भन्ने सोचले यो फिल्म बनाइएको हो।

ट्रेलरमा भुटानबाट खेदिएका नेपालीको कथा हो जस्तो देखिन्छ। के यो त्यही विषयमाथि मात्रै केन्द्रित छ, या त्योभन्दा फराकिलो छ?

यो फिल्म भुटानी नेपालीबारे पनि हो, किनभने नेपालबाट बर्मा, भारत, भुटान लगायत विभिन्न ठाउँमा नेपालीहरू पुगेका थिए। यसले संसारभर छरिएर बसेका नेपाली समेट्ने प्रयास गरेको छ। भुटानी नेपालीको प्रसङ्ग विशेष रूपमा उठाइएको छ, किनभने त्यहाँका नेपालीहरूले झनै दुःख भोगेका छन्।

यो कथा किन लेख्नुभयो?

म अमेरिका पुगेँ। त्यहाँ विभिन्न देशका मानिसहरूसँग संगत भयो, सँगै काम गरियो। काम गर्दै जाँदा उनीहरूको संस्कार–संस्कृति नजिकबाट बुझ्न पाइयो। अनि लाग्यो — हाम्रो संस्कार, संस्कृति, पहिचान पनि अत्यन्त समृद्ध छ। त्यसैले यो फिल्म नेपालीहरूका लागि त हो नै, यदि सकियो भने विदेशीहरूलाई पनि देखाउने सोच थियो। तर सुरुमा भने आफैंलाई माया गर्न सिकाउने उद्देश्यले बनाइएको हो।

१७–१८ वर्षदेखि विदेशमै बसिरहनुभएको छ। तपाईंले के देख्नुभएको छ, नेपालीहरू के कुराहरू बिस्तारै छोड्दै गइरहेका छन्?

विदेशमा व्यस्तताका कारण मानिसहरू चाहेर पनि भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न सक्दैनन्। त्यसैले विस्तारै ती कुरा बिर्सँदै गइरहेका छन्। यिनै कुरालाई दृश्यमार्फत देखाउँदा संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउन सकिन्छ। मैले अमेरिका चार स्थानमा शो गरेँ। त्यहाँका धेरै दर्शक, विशेषगरी हजुरबा–हजुरआमाहरूले आफ्ना नातिनातिनालाई नेपाली भाषा सिकाउन थाले, नेपाली कक्षाहरू सञ्चालन हुन थालेको देखेँ। यसले राम्रो प्रभाव पारिरहेको छ।

यो फिल्मबाट तपाईंले के आशा गर्नुभएको छ?

यदि व्यवसायिक हिसाबले मात्र हेरेको भए सायद यो फिल्म बनाउँदिन थिएँ। तर म सन्देश दिन चाहन्थेँ, त्यसैले यो विषय रोजेँ। हिजोका दिनमा विदेश गएका धेरै नेपालीले दुःख पाए। एउटै देशका नेपालीलाई पीर पर्दा अर्को देशका नेपालीले पनि अनुभूति गर्छन्। भावनात्मक रूपमा सहयोग गर्ने सोच हुन्छ। आज सामाजिक सञ्जालले गर्दा हामी एक–अर्कासँग जोडिन सकिरहेका छौं। यदि यसैगरी संसारभरका नेपालीहरू एक भएर जोडिन सके, हामीले नेपाल बनाउने सपना साकार पार्न सक्छौं। नेपाल त स्वर्ग हो — विदेशमा पुगेपछि झनै बुझिन्छ। विदेशिएका आमाबुबालाई अनेक रोग लागे पनि नेपाल फर्काए ७० प्रतिशत रोग आफैं हराउँछ। नेपालसँग यस्तो जादु छ। त्यसैले हामी सबै नेपाली मिलेर नेपालप्रति समर्पित हुनु आवश्यक छ। विदेशमा भए पनि हाम्रो नेपाली मनले केही गर्नुपर्छ भन्ने सन्देश यो फिल्मले दिन खोजेको हो।

तपाईंले जे सोचेर लेख्नुभयो, त्यो फिल्ममा कति उतार्न सफल हुनुभयो?

सोचेजस्तो पूर्णरूपमा त कहाँ हुन्थ्यो र? मैले मेरो तर्फबाट भरपूर प्रयास गरेको छु, सकेसम्म सम्झौता नगरी। तर कमजोरी त रहन्छ नै। मैले अमेरिका चार स्थानमा शो गरेको एउटै कारण थियो — दर्शकहरूले के भन्नुहुन्छ भन्ने बुझ्न र सुधार गर्न। त्यही अनुसार सकेसम्म सुधार गरियो।

यो फिल्म सफल वा असफल हुनुको तपाईंका लागि अर्थ के हो?

यो फिल्म मैले मनको लागि बनाएको हुँ। यदि म सफल–असफलताकै आधारमा हेर्थें भने व्यवसायिक फिल्ममा लगानी गर्ने विकल्पहरू थिए। यो फिल्मले कमाउँछ कि कमाउँदैन भन्ने दर्शकको हातमा छ। तर फिल्म भनेको मेरो र मेरो टिमको तर्फबाट नेपाल, भुटान र संसारभर रहेका नेपालीहरूका लागि एउटा उपहार हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x