
माघको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मिरमिरे’को २ वटा पोस्टर सार्वजनिक भएको छ । एक पोष्टरमा नायक प्रकाश सपुत र नायिका श्रृजना निङलेखुलाई देखाइएको छ भने अर्को एक पोष्टरमा नायक दयाहाङ राई र बाल कलाकार साइसा गौचन छन् । यम शेर्पाको निर्देशनमा बनेका यी दुई पोष्टरले फिल्मको कथा भन्न खोजेका छन् ।
प्रकाशलाई फिल्ममा विद्यार्थी र सिर्जनालाई शिक्षिकाको रुपमा हेर्न सकिन्छ । यस्तै, दयाहाङ र साइसा भने केही समस्यामा परे जस्तो देखिन्छन् । यार्सा फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटाको पनि अभिनय छ ।
बाल–कलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय हेर्न सकिन्छ ।
दयाहाङ र प्रकाशले पहिलो पटक फिल्मी पर्दामा सहकार्य गरेका हुन् । यम शेर्पाको कथा रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानी रहेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।