
अभिनेत्री बर्षा राउतले आफ्नो हातमा रहेको दागको बारेमा मिडिया गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
आफ्नो पछिल्लो फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक कार्यक्रमपछि मिडियामा आएका भ्रामक र व्यक्तिगत समाचारलाई लिएर अभिनेत्री राउतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी हुन् । उनले कार्यक्रम फिल्मको भए पनि फिल्मको नभई आफ्नो व्यक्तिगत जीवन र बोल्न नचाहेका विषयले प्राथमिकता पाएको भन्दै आक्रोश पोखेकी छन् ।
उनले आफ्नो हातमा रहेको दागको विषय समाचार बनेपछि भनेकी छन्- ‘आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०–१५ वर्षअघिका तस्वीरहरू अझै पनि मेरो प्रोफाइलमै छन् , त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ ।’
उनले भनेकी छन्: हिजो मेरो फिल्म ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा मैले केही व्यक्तिगत प्रश्नहरूको उत्तर नदिने निर्णय गरेँ । किनभने कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ भन्ने लाग्छ। तर आज आएर मिडियामा मेरो नबोलेका कुराहरूलाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा मन दुख्यो । मैले एउटा कुरा भनेकी थिएँ, ‘मलाई कहिलेकाहीँ मिडियामा बोल्न डर लाग्छ ।’ त्यो डर अहंकार होइन, न त दूरी बनाउने इच्छा हो। त्यो डर त त्यसैले हो किनभने जतिसुकै सरल मनले बोलेको कुरा पनि कहिलेकाहीँ गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिन्छ। त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु ।
कार्यक्रम त चलचित्र ‘हर्ष’ को थियो, तर न चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो । व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्र बन्न पुगे। म सधैं विश्वास गर्छु,कलाकारको सबैभन्दा ठूलो पहिचान उसको काम, उसको मेहनत र उसको सिर्जनशीलता हो, व्यक्तिगत जीवनका अनुमान होइन। म मेरो परिवार, मेरो पेशा र मेरो दर्शकहरूप्रति गहिरो सम्मान राख्छु ।
आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन्। मेरा १०–१५ वर्षअघिका तस्वीरहरू अझै पनि मेरो प्रोफाइलमै छन् , त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ।