Todays Date: २०८२ माघ १०

प्रदीप भन्छन्– ‘जन्ते बाख्रो’मा बोकाको भूमिका महत्वपूर्ण

image 20

देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक सिनेमा हो । हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम सिनेमा ‘जन्ते बाख्रो’ मा देखिएको छ । ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परालाई आधार बनाएर सिनेमा तयार गरिएको लेखक प्रदीप भारद्वाजले बताएका छन् ।

‘नयाँ विषय खोज्ने क्रममै आएको आइडिया हो, ‘जन्ते बाख्रो’ । यो दुई प्रकारको हुन्छ, एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्राएपछि हुने भतेर (भोज) मा खाइन्छ । फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको छ’, उनले भने ।

पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ मा अपग्रेड भएका कारण पनि नयाँ पुस्तालाई संस्कृतिको विषयमा समेत फिल्मले जानकारी दिने लेखक भारद्वाजको विश्वास छ ।

‘विवाहमा जन्ती गएका पाहुनालाई बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कार अहिलेको सहरिया नयाँ पुस्तालाई हाम्रो संस्कृति थाहा नहुन पनिसक्छ । किनकि आधुनिकीकरणले हाम्रो परम्परा र संस्कृतिलाई नयाँ स्वरूप दिईसेको छ । त्यसकारण हामी सिनेकर्मीले हाम्रो संस्कृतिका विषयमा जानकारी दिनु पनि आवश्यक छ । तर, यो पूर्ण मनोरञ्जनात्मक सिनेमा हो’, उनले भने ।

उनले फिल्मको सार्वजनिक प्रचारप्रसार सामग्रीमा देखिएको ‘बोका’ को पनि महत्वपूर्ण भूमिका फिल्ममा रहेको बताए । उनले भने, ‘फिल्मको पहिलो दृश्यदेखि नै बोकाको प्रसङ्ग जोडिएको छ, सोही कारण हामीले यसलाई प्रचारप्रसारमा अगाडि ल्याएका छौँ ।’

लेखक भारद्वाजका अनुसार नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई तयार भएको ‘जन्ते बाख्रो’ रमाइलो कमेडी सिनेमा हो । यसमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । सिनेमालाई सन्तोष गौतमले निर्माण गरेका हुन् । सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । यो सिनेमा आगामी जेठ २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x