
आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा: एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ।
निर्माण टिमले १ मिनेट १२ सेकेन्ड अवधिको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो।
टिजरमा एक सुखी परिवारमा आएको अप्रत्याशित विपत्तिले परिवार कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा देखाइएको छ।
टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन् भने झरना थापा, सुहाना थापा लगायतका कलाकारको भावनात्मक अभिनयले परिवारको पीडा झल्काएको छ। घटनाको वास्तविक कारण भने टिजरमा खुलाइएको छैन।
‘बाः एक योद्धा’ हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको हो। सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।
फिल्ममा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।
नेपाली संगीत क्षेत्रमा दर्जनौं गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैंले लेखेका हुन्।
‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायाकंन, मित्र डि. गुरूङको सम्पादन छ। फिल्म आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।