
गत साउन १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा ७ करोड ४२ लाख७३ हजार ८ सय ५९ रुपैंयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा फिल्मले छोटो समयमा सर्वाधिक ग्रस गरेको हो । अब यो फिल्म १० करोडको दौडमा छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणाली सार्वजनिक गरेको आँकडा अनुसार १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको छ । फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ ।
फिल्मले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली फिल्मले एकै दिन गरेको सर्वाधिक कमाइ हो । हिजो आइतबार पनि फिल्मको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो ।
हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । ‘लालीबजार’ पहिलो स्थानमा छ । डा. कपिल रिजालको निर्माण र निर्देशन रहेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् ।