News

वर्षाका कारण फिल्म ‘शुभ विवाह’ले रोक्यो छायांकन

image 17

बुधबारदेखि देशभर निरन्तर वर्षा भएपछि नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म प्रभावित भएका छन् । यस्तोमा एक महिनादेखि तालनगरी पोखरामा छायांकन भइरहेको फिल्म ‘शुभ विवाह’को तीन दिनका लागि छायांकन स्थगित गरिएको छ ।

निर्माता कम्पनी प्रियदर्शन फिल्म्सकी प्रमुख सुप्रिया कटुवाल (थापा)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै असोज ९ गतेदेखि ११ गते (आइतबार)सम्म छायांकन स्थगित गरिएको जनाएकी छन् । कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ ।

४५ दिनको सेड्युलसहित सुरु भएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । फिल्मको गीतबाहेक सबै दृश्यको छायांकन पूरा भइसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिए । उनका अनुसार पोखराको लेकसाइडमा १० दिने सेड्युलसहित सेट लगाएर गीतको छायांकन भइरहेको थियो । तर, वर्षाका कारण छायांकन रोक्नु परेको उनले बताए ।

प्रेम र विवाहको कथामा आधारित फिल्ममा प्रदीप खड्का, सनिशा भट्टराई, हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरीलगायतको अभिनय छ । फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते प्रदर्शन गरिँदैछ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments