
गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनले बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयमा गत असार २२ गते निवेदन दिएका हुन् । निवेदनमा उनले आफूमाथि भएको कुटपिटको घटना एक महिना अगाडिको रहेको उल्लेख गरेका छन् । उनका अनुसार उनीहरूले एक हजार चोरेको भन्दै कुटपिट गरेका थिए ।
निवेदनमा भनिएअनुसार एक महिनाअघि अशोक मामाघर गएका थिए । त्योबेला झापाको महानन्द चोकमा खाजा खाने क्रममा एक व्यक्ति (काजी)ले सँगै जान आग्रह गर्दा अंकित भन्ने व्यक्तिले १ हजार रुपैयाँ लिएका थिए । त्यसको एक सातापछि देवी बस्तीको गेट नजिक स्कुटरमा पेट्रोल हाल्दै गर्दा आफूलाई ‘चोर चोर’ भन्दै भिडियो बनाएको उनले निवेदनमा उल्लेख गरेका छन् ।
उनले निवेदनमा भनेका छन्, ‘अंकित प्रधान र शनिश्चरे बस्ने शुक्रे समेत दुईजना भएर मलाई ‘चोर चोर’ भन्दै भिडियो बनाउँदै जथाभावी कुटपिट गर्दै हाम्रो एक हजार रुपैयाँ चाहियो भन्दै भिडियो बनाएका थिए । त्यो भिडियो सामाजिक सञ्जालमा लगाएर मेरो भविष्यमाथि खेलवाड गरिरहेको छ । पटकपटक हटाइदिनभन्दा पनि उल्टै धम्काइरहेको छ ।’
निवेदनमा अशोकले आफूमाथि कुटपिट गरेर भिडियो बनाउनेलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनको निवेदन परेसँगै अनारमनी प्रहरी कार्यालयले छानबिन सुरु गरिसकेको जनाइएको छ । आइतबार साँझ अशोकमाथि कुटपिट भएको भिडियो टिकटकमा भाइरल भएको थियो, जसमा एक युवकले उनलाई गालामा थप्पड हानिरहेको देख्न सकिन्छ ।
अशोक गत वर्षदेखि झापाको बिर्तामोडमा परिवारसँग बस्दै आएका छन् । त्यसअघि उनी काठमाडौंमा गायक टंक बुढाथोकीको संरक्षणमा थिए । टंकले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’मा अभिनय गरेपछि उनी परिवारको रेखदेखका लागि झापा गएका थिए । अहिले उनले त्यहीँको विद्यालयमा अध्ययन गर्दै गायन र अभिनयलाई निरन्तरता दिँदै आएका छन् ।
