Todays Date: २०८२ मंसिर २८

‘परालको आगो’मा सुहाना थापा अनुबन्धित

suhanathapa paralkoaago

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यसमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।

फिल्म ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले पहिलोपटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । गत वर्ष फिल्म ‘एक भागवत् एक गीता’मा देखिएकी उनले ‘ए मेरो हजुर ४’मा पनि प्रमुख भूमिका निभाएकी छन् । यी तीनवटै फिल्मको निर्देशन उनकी आमा झरना थापाले गरेकी थिइन् । ‘परालको आगो’लाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।

फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । यसैले मैले पहिलोपटक घरबाहिरको फिल्म साइन गरें’, उनले भनिन् । गौँथली चरित्रले आफूलाई लोभ्याएको सुहानाको भनाई छ ।

आगामी वर्ष (२०८२)को दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा सुशील देवकोटाको लेखन रहनेछ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।

केही दिनअघि मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म’ नबिग्रने गरी फिल्म निर्माणका लागि मञ्जुरी दिएका थिए । ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथली (श्रीमान्-श्रीमती)को झैँझगडालाई परालको आगोको संज्ञा दिइएको छ । यसलाई कथाकार मैनालीको सर्वश्रेष्ठ कथा मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x