Todays Date: २०८३ बैशाख १३

‘पूजार सार्की’मा काम गरेपछि परीक्षाको अनुभव- ‘अन्तरजातीय प्रेम गाह्रो हुने रैछ’

Parikshya Limbu Pujar Sarki 4

अभिनेत्री परीक्षा लिम्बु फिल्म ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित फिल्म ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्।

यो फिल्ममा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्न सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन्, जसलाई विकास सुबेदीले लेखेका छन् भने दिनेश राउतले निर्देशन गरेका छन्। यस फिल्ममा परीक्षासँगै अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय छ।

यो फिल्ममा अभिनय गरेसँगै परीक्षा फिल्ममेकरको नजरमा परेकी छन्। ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनी परिचित भइसकेकी छन्। परीक्षाले यस फिल्ममा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन्। उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन्। ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ। मलाई चिन्नु हुनेले फिल्मको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो। त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ। म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन्।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो। लवजकै कारण परीक्षालाई यस फिल्ममा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो। यसको लागि फिल्मको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो। यो फिल्मको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन्।

परीक्षा यस फिल्ममा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।

फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन्। परीक्षालाई फिल्मका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ। ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो। तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो। उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन्।

‘पुजार सार्की’ फिल्ममा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ। फिल्ममा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन्। ‘फिल्ममा म मगर समुदायको प्रतिनिधित्व गर्छु। हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ। त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ। प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो फिल्ममा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन। त्यो अनुभवका लागि म भाग्यशाली पनि छु।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको। परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ। ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ। किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु। मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन्। ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ। मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो। तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो,’ परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ। पुजार सार्कीमा भने ती सिकेका कुरा लागु गर्ने कोसिस गरेकी छु। तीन वटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ।’

राम्रो फिल्म बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ। परीक्षाको बुझाई पनि त्यही हो। परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ। ‘त्यो डर भनेको निर्देशकप्रतिको सम्मान हो। मैले गरेको काम ठिक वा बेठिक भनेर छुट्टाउने निर्देशकले नै हो। आफूले निभाएको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनु पनि पर्छ’, परीक्षा भन्छिन्, ‘निर्देशक दिनेश दाइको हकमा मलाई त्यही नै भयो। दिनेश दाइले यसअघि राम्रा चलचित्र बनाउनुभएको छ। यो चलचित्रको कन्टेन्ट र क्यारेक्टर पनि राम्रो भएकाले चलचित्र राम्रो बनेको छ भन्नेमा म ढुक्क छु।’

परीक्षालाई ‘पुजार सार्की’बाट ठूलो आस छ। उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ। ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो। अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ। कुनै बेलाको सती प्रथा हट्यो। त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x