काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ले शनिबार मल्टिप्लेक्समा थप शो पाएको छ।
पहिलो दिन सबैजसो शो हाउसफुल भएपछि फिल्मले शुक्रबारभन्दा शनिबार बढी शो पाएको हो। शनिबारका अधिकांश शो हाउसफुल भएको छ ।
पहिलो दिन अधिकांश मल्टिप्लेक्सले २० प्रतिशत शो मात्र दिएकोमा शनिबार कठपुतलीलाई वान सिनमाजले ३० प्रतिशत, बिएसआर मुभिजले २७ प्रतिशत, बिग मुभिजले २३ प्रतिशत शो दिएका छन्।
भीमसेन लामाको निर्देशन तथा सम्पदा मल्लको लेखन रहेको हरर फिल्म पृथ्वी राना मगरले निर्माण गरेका हुन्।
हरर जनरा नेपालका लागि सफल जनरा नभएकाले र लामो समयपछि नेपाली फिल्म प्रदर्शनमा आएकाले कठपुतलीलाई विशेष चासोका साथ हेरिएको थियो।
विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिएर आएको फिल्मले हलमा पनि सुखद सुरुवात गरेको छ।
उषा रजक, कर्मा, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘कठपुतली’को प्रदर्शनले अन्य नेपाली निर्माताले पनि एउटा राहतको सास फेरेका छन्। कोरोना महामारी सुरु भएपछि अधिकांश निर्माताले अनुकूल समयको प्रतीक्षामा आफ्नो फिल्म रोकेका थिए। प्रदर्शनका आएका ती फिल्ममा पनि दर्शकको उपस्थिति नगण्य थियो।
यतिवेला हलमा कठपुतलीसँगै दुईवटा ठूला फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा : द राइज’ तेस्रो हप्तामा प्रदर्शन भइरहेका छन्। ग्राण्ड ओपनिङ गरेको ‘स्पाइडर म्यान’को शो घट्दै छ भने ‘पुष्पा’ सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ।