काठमाडौं । खगेन्द्र पानीफोटोमार्फत फिल्म निर्देशनमा पनि डेब्यु गर्दैछन्। नाटकको रुपमा मञ्चन भइसकेको पानीफोटो प्रतीक्षित फिल्ममध्येमा गनिएको छ।
डेढ वर्षअघि नै प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण प्रदर्शन हुन सकेको थिएन। अहिले धमाधम नेपाली फिल्मले प्रदर्शन तयारीमा रहेका बेला कोरोनाको अर्को लहरको त्रास पनि बढ्दै छ। यस्तोमा पानीफोटो प्रदर्शन गर्ने कि नगर्नेको दोधारमा खगेन्द्र रहेका छन्।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफू फिल्म प्रदर्शनलाई लिएर अन्योलमा रहेको खगेन्द्रले बताएका छन्। उनले ‘सिनेमा रिलिजको अन्योलतामा अल्झिएको एक मनुवा’ भन्दै आफ्नो फोटो पोस्ट गरेका छन्।
लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले अहिलेसम्म ६ वटा फिल्ममा अभिनय गरेका छन्। ‘बधशाला’बाट नेपाली फिल्ममा प्रवेश गरेका उनका टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति, जय भोले र डमरुको डन्डिबियोलगायत फिल्म प्रदर्शन भइसकेका छन्।
पहिलो फिल्मबाहेकका सबै फिल्मको लेखन पनि उनले नै गरेका हुन्। जसमध्ये पशुपतिप्रसाद र जय भोले व्यवसायिक रुपमा पनि सुपरहिट साबित भए। कम फिल्ममा मात्र देखिने खगेन्द्र नेपालका सफल अभिनेता तथा लेखकमा गनिन्छन्। उनको फिल्मको प्रतीक्षामा लाखौँ दर्शक रहने गर्छन्।
दुई दशकदेखि लेखन तथा अभिनयमा सक्रिय खगेन्द्रले दर्जनौँ नाटकमा लेखक, निर्देशक तथा अभिनेताको भूमिका निर्वाह गरिसकेका छन्। उनका पानीफोटो, फुलानीलगायतका तीनवटा कथा संग्रह प्रकाशित छन् भने एउटा उपन्यास प्रकाशोन्मुख रहेको छ।