काठमाडौं । करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे अभिनेत्रीहरूले आफ्नो धारणा राख्न थालेका छन् ।
यो प्रकरणमा सामाजिक सञ्जालमा पलको पक्ष र विपक्षमा अनेकौ भनाइ राख्ने, को दोषी भन्ने खालका सामग्री तयार पार्ने, टिकटक युट्युब आदिमा भिडियो पोस्ट गर्ने क्रम बढेपछि नायिकाहरू बोल्न थालेका हुन् । मंगलबार अभिनेत्री रेखा थापाले पनि गल्ती गर्नेलाई कारबाही हुनैपर्नेमा जोड दिएकी थिइन् ।
उनले बालिकालाई सुरक्षा र अभभावकत्व प्राप्त गर्ने अधिकार हुने भन्दै समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने खालको हुनुपर्ने बताएकी छन् ।
२० बर्ष मुनिका छोरीहरू बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरूलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।
अभिनेत्री सञ्चिता लुइँटेलले पनि यसबारे बोल्दै सही र गलत छुट्याउने काम अदालतको भएको भन्दै अदालतले फैसला गर्दासम्म सामाजिक सञ्जालमा अनावश्यक होहल्ला र गालीगलोज नगर्न आग्रह गरेकी छन् । उनले यस विषयमा टिकटकमा बालबालिकाको प्रयोग गरिएकोप्रति पनि आपत्ति जनाएकी छन् । फेसबुकमा उनले लेखेकी छन्-
पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषि र निर्दोषी छुट्याउने काम कानुन र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।
यस्तै अभिनेत्री लक्ष्मी बर्देवाले प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउन नहुने कुरा उठाएकी छन् । कानुन विपरीत कृयाकलाप गर्दा सजाय भोग्नुपर्ने कुरा सबैले बुझ्नुपर्ने र कोही मलाई मन पर्ने वा मेरो नजिकको ब्यक्ति हो हि होइन भन्ने कुराले कानुनलाई प्रभाव पार्न नहुने बताएकी छन् ।
उनले भनेकी छन्- हामी यत्ती त बुझ्न सक्छौ नि, कानुन बिपरित कृयाकलाप गर्दा कानुनी सजाय भोग्नु पर्छ । मलाइ मन पर्ने मान्छे हो,होइन !,मेरो नजिक छ, छैनले यसलाइ फरक पर्दैन र पर्नु पनि हुदैन !
‘प्रबृत्ति’ माथीको आवाजलाई ‘ब्यक्तिगतू’बनाउनु आफैमा मुर्खता हो !
त्यस्तै, आज पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख खोलेकी छिन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’
मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।
पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् । आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घाउ बनिरहेको पनि बताएकी छिन् ।