काठमाडौं । कोरोना महामारीले निकै प्रभावित बनेको फिल्म क्षेत्र लयमा फर्किन थालेको छ । स्वदेशी तथा विदेशी फिल्महरूको प्रदर्शनले दर्शकहरूको आकर्षण बढाएसँगै ठप्प बनेका हलहरू संञ्चालनमा आएका हुन् ।
करिब दुई वर्षदेखि कहिले खुल्ने त कहिले बन्द हुने गरेका फिल्म हलहरू पछिल्ला केही महिना यता व्यस्त बनेका छन् । विशेषगरी नेपाली सिनेमा ‘म यस्तो गित गाउँ छु २’ र साउथ इन्डियन फिल्म पुष्पा सिनेमाको प्रदर्शनले हलहरू भरिन थालेका थिए भने व्यापार समेत आक्रमक रुपमा गरे ।
महामारीमा सरकारले हल खोल्न व्यवसायीहरूलाई अनुमति दिएको थिएन । संक्रमणको जोखिम कायमै रहेका कारण यस अवधिमा दर्शकहरू आउने वातावरण पनि थिएन । देशको समग्र आर्थिक अवस्था अस्तव्यस्त बनेका कारण मानिसको चहलपहल न्यून भएको थियो भने होटल, पर्यटन तथा सिनेमा व्यवसाय ठप्प प्राय बनेका थिए ।
फिल्म निमार्ता र हाल संञ्चालकहरू बीच कसले बढी जोखिम लिने भन्ने रस्साकस्सी नै चलेको थियो । चलचित्र निमार्ताहरू रिलिज गर्न मानिरहेका थिएनन भने व्यवसायीहरूमा दर्शक नआउने त्रास थियो । यस अवधिमा कतिपय सिनेमा हलहरू टिक्न नसकेर सधैंको लागि बन्द नै भएका छन् ।
५० बढी नेपाली फिल्महरू प्रदर्शनको लाइनमा छन । कोरोना अवधिमा फिल्म बने पनि प्रदर्शन नभएका कारण थुप्रै चलचित्रहरू प्रदर्शनको तयारीमा छन ।