काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्।
त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।
शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् । बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ ।
शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् । काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु-तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।
बालेनको घोषणापत्रमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको रुपमा काठमाडौंको ब्राण्डिङ गरिनेछ ।’ साथै, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि बालेनको छ ।
र्याप गायनबाट स्थापित कलाकार बालेनलाई सेलिब्रिटीले सामाजिक सञ्जालका टाइमलाइनबाट पनि भोट मागिरहेका छन् ।
नेकपा एमालेले पनि चलचित्र, नाटक, साहित्य लगायत सिर्जना र स्थानीय स्रष्टाहरुको संरक्षण र सम्वद्र्धन गर्ने योजना अघि सारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।