Todays Date: २०८३ जेष्ठ २८

अनाथलयलाई सघाउन लण्डनदेखि पेरिससम्म साइकल यात्रा गर्दै अभिनेता जोशी

काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जोशीले २४० माइल (करिव ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् ।

‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका अभिनेता जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरुका साथ यही शुक्रबार अर्थात् २० मेका दि ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् ।

उनीहरुले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा प्रारम्भ गरेर लगातार तीन दिन साइकिलिङ गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् ।

‘हाम्रो म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छ,’ अभिनेता जोशी भन्छन्– ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास सायद पहिलो पटक हुँदैछ ।’

उनले यो यात्राका लागि तीन साता अघिदेखि मात्रै तयारी गरेका हुन् । उनका साथीहरुले भने यो यात्राबारे चार वर्ष अघिदेखि योजना बनाएका रहेछन् ।

‘उहाँहरुले पहिलादेखि नै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भने– ‘यात्राका लागि म करिब तीन सातायता दैनिक चार–पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’

लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीेले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उनको छ ।

साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरु स्वयम्ले नै ब्यहोर्ने टिमको निर्णय छ । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन् ।

उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रुपैयाँ) संकलन गर्ने लक्ष्य लिएको उनले बताए । उनले यो अभियान प्रारम्भ भएदेखि विभिन्न देशबाट ९८ जनाले करिव ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जो–कोहीले पनि जस्ट गिभिङ डटकम (justgiving.com) नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन् ।

अनाथ बालबालिकाका लागि विश्व भरीबाट माया, साथ, सहयोग र हौसला दिनु हुन उनले सबैलाई अनुरोध गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x