काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ।
असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।
हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी र नेपाली संस्करण नेपालमा एकसाथ प्रदर्शन हुने भएको हाे। भारतमा पनि यो फिल्म हिन्दी संस्करणमा सोही दिन प्रदर्शन हुनेछ।
‘मधेस भेगसँगै सिंगो कला प्रेमी दर्शकहरूको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेम गीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ निर्देशक सेनले फेसबुकमा लेखेका छन्।
निर्माण टिम यतिबेला फिल्मकाे प्रमाेशनकाे लागि भारत पुगेका छन्। भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।