Todays Date: २०८३ असार १३

‘प्रेमगीत ३’ सँग जोडेर विवादमा मुछेको भन्दै भुवन केसीले निकाले ६ बुँदे लिखित वक्तव्य

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली कथानाक चलचित्र‘प्रेमगीत ३’ सँग जोडेर विवादमा मुछेको भन्दै लिखित वक्तव्य नै निकालेको छ।

शुक्रबारदेखि रिलिज भको ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनलाई लिएर चलचित्र विकास बोर्डले वक्तव्य नै निकालेको हो।

बोर्डका अध्यक्ष भुवन केसीसहितका पदाधिकारी तथा सदस्यहरुलाई ‘प्रेमगीत ३’ सँगको विवादमा जोडेर गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति र समाचार लेखिएको जिकिर गरिएको छ।

केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएकाले हिन्दी स्वरांकन नदिएको अर्को तर्क गरिएको छ।

करचुक्ता नएकै कारण कारण हिन्दी भाषामा स्वरांकन अनुमति नदिइएको पनि केसीले बताएका छन्।

निर्माताले कर चुक्ता गर्नासाथ पुनः स्वरांकन अनुमति शुक्रबार नै दिइएको पनि बोर्डले जनाएको छ।

आइतबार सेन्सर सिफारिसिका लागि निवेदन आउनासाथ ढिलो नगरि त्यसका लागि सिफारिश गरिएको पनि जिकिर केसीले गरेका छन्।

यस्तो छ बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको बुँदाहरू:

१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम १७ ख. बमोजिम चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भाषामा यस बोर्डबाट पुनःस्वराङ्कनको स्वीकृतिका लागि श्री आशुषेन फिल्म प्रोडक्सन प्रालिका तर्फबाट मिति २०७९।५।३० मा करचुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकोमा उक्त दरखास्त साथ करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेमा सो पेश नगरेकोले उक्त कागजात पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिको लागि कारबाही गरिने जानकारी गराइएको थियो।

२) उक्त कम्पनीको कर चुक्ताको प्रमाणपत्र पेश नगरी चलचित्र ‘प्रेमगीत ३’ हिन्दी संस्करणको जाँचका लागि विदेशी चलचित्र वितरण इजाजत प्राप्त कम्पनी श्री व्यङ्कटेश इन्टरटेनमेन्ट प्रालिले भारतस्थित केन्द्रीय फिल्म प्रमाणन बोर्डले मिति २०७९।५।२७ गते (१२ सेप्टेम्बर, २०२२) मा जारी गरेको जाँचपास प्रमाणपत्र संलग्न राखी उक्त चलचित्र विदेशी चलचित्र सरह जाँचको सिफारिसका लागि यस बोर्डमा मिति २०७९।६।५ मा दरखास्त दिएको र सो दरखास्त साथ विदेशी चलचित्रलाई लाग्ने भन्सार महसुल तिरी पैठारी गरेको कागजात समेत पेश गरी चलचित्रको जाँचपासको लागि सिफारिस माग गरेकोले निवेदकको माग बमोजिम नै विदेशी चलचित्र सरह उक्त चलचित्रको जाँचका लागि यस बोर्डको च.नं.२९४, मिति २०७९।६।५ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो।

३) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिमार्फत निर्माण भएको ‘प्रेम गीत ३’ को चलचित्र जाँचका लागि यस बोर्डको च.नं.१८१, मिति २०७९।५।१३ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस भई उक्त चलचित्रको मिति २०७९।५।१४ मा सो समितिबाट उक्त चलचित्र जाँच गरी चलचित्र जाँच प्रमाणपत्र समेत दिई सकिएको तर हाल सोही निर्माताबाट निर्माण भई एउटै नाम भएको नेपालमै निर्मित चलचित्रलाई विदेशी सरह जाँचका लागि सिफारिस भएर आएको देखिएकोले प्रस्तुत विषयमा के भएको हो? खुलाई पठाउनु हुन भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६,मिति २०७९।६।६ को पत्रबाट अनुरोध भई आएको।

४) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको च.नं.श्रव्य ७१६, मिति २०७९।६।६ को विषयमा यस बोर्डको च.नं. ३०५, मिति २०७९।६।६ को पत्रबाट सो सम्बन्धमा मन्त्रालयमा खुलाई पठाइएको।

५) श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिका तर्फबाट यस बोर्डको च.नं. २६६,मिति २०७९।५।३० को पत्रबाट प्रालिका तर्फबाट नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को चलचित्र जाँचका लागि सिफारिस माग गर्दा आ.व.२०७७।७८ सम्मको करचुक्ता प्रमाणपत्र १५ (पन्ध्र) दिनभित्र यस बोर्डमा पेश गर्नेछु भनी मिति २०७९।५।१३ मा कबुलियतनामा गरेको सम्बन्धमा उक्त प्रालिका तर्फबाट कबुलियतनामा बमोजिम करचुक्ता प्रमाण पत्र पेश गरेको नदेखिंदा सो पेश गरेपछि मात्र पुनःस्वराङ्कनको स्वीकृतिका लागि कारबाही गरिने जानकारी गराईएकोमा मिति २०७९।६।७ गते मात्र उक्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरेको।

६) मिति २०७९।६।७ मा बसेको बोर्डको बैठकबाट चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति सम्बन्धी कारबाहीका लागि व्यवस्थापन समक्ष पठाउने निर्णय भए बमोजिम उक्त विषयमा व्यवस्थापनबाट तत्कालै कारबाही भई मिति २०७९।६।७ को निर्णयानुसार श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रालिका नाममा नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७’ को नियम १७ख. को उपनियम (२) बमोजिम हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति दिई मिति २०७९।६।९ को निर्णयानुसार उक्त चलचित्रको जाँचका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो।

‘प्रेमगीत ३’ हिन्दी संस्करण भोलि सोमबारदेखि नेपाली हलहरूमा प्रदर्शन हुँदैछ।

यसबारे सञ्चारमाध्यममा आएका खबरलाई पनि बोर्डले खेदजनक भनेको छ।

बोर्डका अध्यक्ष केसीले आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिप्पणी गर्दा सत्यतथ्यको ख्याल गर्न भनेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x