Todays Date: २०८३ जेष्ठ १३

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे ।

छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन ।

विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।

उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै बि।स।२०६३ मा यो हाँस्य टेलिशृङ्खला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे ।

लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटाएका छन् ।

उनकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन् । अभिनेता सन्तोष भन्नुहुन्छ, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’ फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए ।

फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ । टेलिशृङ्खलाको रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ । ‘यसलाई टिभीकै शृङ्खला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ’, अभिनेता पन्तले भने ।

फिल्ममा उनको जोडी टेलिफिल्ममा झैँ रमा थपलिया छन् । ‘फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिए । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरि सहकार्य भयो’, रमाले भनिन् । हिजो आजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन् । ‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनेछन् । हामीले साख झर्ने काम गरेका छैनौँ । मेरो लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ’, साकारले भने ।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x