काठमाडौं । गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ।
जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको छ। पहिलो मायाको पहिलो अनुभव सङ्गाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ।
‘तिमीलाई नै’मा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर छ। केही अघि ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ ।
त्यसमा दीपकराज विश्वकर्माको सङगीत तथा निर्देशन रहेको छ। भिडियोमा गायक/गायिका स्वयंको अभिनय छ। केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृङ्गार र अमन बडूको छायाङ्कनमा भिडियो तयार गरिएको हो।
काठमाडौँको धार्मिक क्षेत्र साँखु क्षेत्रका प्राकृतिक दृश्य भिडियोमा समावेश छ। युवायुवतीको प्रेम र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ।