काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग गायिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह विरुद्धको अनुसन्धान सकाएको छ।
आरोपित शाहलाई २१ दिन हिरासतमा राखी अनुसन्धान सकेर प्रहरीले राय सहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको हो।
प्रहरीले आरोपित शाह विरुद्धको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए।
गत फागुन १५ गते पक्राउ परेलगत्तै प्रहरीले शाह विरुद्ध जिल्ला अदालत तनहुँबाट पहिलो पटक सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको थियो। त्यसैगरी सात दिन थपिएको म्याद सकिएपछि दोस्रो पटक १२ दिन र तेस्रो पटक पाँच दिन म्याद थप गरेर अनुसन्धान गरेको थियो।
शाह विरुद्ध अनुसन्धानका चलिरहेकै बेला पूर्वी नवलपरासीमा पनि जाहेरी परेको थियो। त्यसका लागि बयान गराउन शाहलाई गैंडाकोट समेत लगेर प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय नवलपुरमा अभियोगपत्र बुझाएको थियो।
त्यसपछि सरकारी वकिलको कार्यालय नवलपुरले शाह विरुद्ध प्रहरीले तयार पारेको कागजातका आधारमा जिल्ला अदालतमा बलात्कारको अभियोगपत्र दर्ता गरेको थियो।
सरकारी वकिल कार्यालयल नवलपुरले शाह विरुद्ध १५ वर्ष, आठ महिना, ४ दिनकी नाबालिगलाई बलात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दावी गर्दै मुद्दा दायर गरेको थियो।
आरोपित शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) मा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।