Todays Date: २०८३ असार ७

२०७८ चलचित्र क्षेत्रको लागि असफलताको वर्ष: १३ वटा नेपाली चलचित्र रिलिज,करोडौं लगानी बालुवामा पानी

काठमाडौं । २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दसैँ-तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले पनि न दर्शक कमाए न पैसा ।

१५ वैशाखबाट कोरोनाको दोस्रो लहरले देशैभरका सिनेमा हल बन्द भए । १५ भदौबाट हल खोल्ने सरकारले निर्णय गर्‍यो । तर, फिल्म नहुँदा हल खुलेनन् । १७ असोजबाट हल खुले । पहिलो दिन नै दुईवटा हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र नोबडी रिलिज भए ।

हलिउड चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रकर्मी पनि जुरमुराए । त्यसपछि २६ असोज अर्थात् फुलपातिको दिन शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन् ।

त्यसपछि ‘धूम-४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट-३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो । सिनेमा हल बन्द भए ।

पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । यो समय भने हलको शो र विदेशी फिल्मको प्रभुत्वको समस्या थिएन ।

समस्या त फिल्मको कथा, सिनेम्याटिकको थियो । राम्रो चलचित्र बनाउन नसकिएपछि चलचित्र निर्माताहरूले भने दर्शकलाई दोष दिए । नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकिरहेका बेला विदेशी चलचित्रले राम्रै व्यापार गरे ।

तिहारको अवसरमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । जसले दर्शक हलसम्म तान्यो । अक्षयकुमार अभिनित उक्त चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो । तर, त्यही अवधिमा रिलिज भएका नेपाली चलचित्रले भने पानीसम्म भन्न पाएन ।

त्यस्तै आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘गंगुबाई काेठियावाडी’ ले नेपाली दर्शकलाई हलसम्म तानेको थियो । साउथ इन्डियन स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ १७ डिसेम्बरबाट रिलिज भयो । जुन चलचित्र हेर्न दर्शकको ओइरो लाग्यो । त्यहीबेला हलिउड फिल्म ‘स्पाइडर म्यान नो वे होम’ प्रदर्शनमा आयो । यो चलचित्र हेर्न पनि दर्शक हलसम्म पुगे ।

त्यसपछि २५ मार्चदेखि साउथ इन्डियन चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आयो । जसलाई हेर्न दर्शकको ओइरो लाग्यो । १२ करोडभन्दा बढीको कलेक्सन गरिसकेको यो चलचित्रले अझै दर्शक पाइरहेको छ ।

यो वर्ष नेपाली चलचित्रका लागि व्यापारभन्दा विवादले प्रश्रय पायो । कहिले महानायकको विवाद त कहिले विदेशी चलचित्र नेपालमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विवाद । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई सुधार गर्ने अवसर थियो । त्यसका लागि चलचित्रकर्मी तयारीमा लाग्नुपर्ने थियो । तर, उनीहरू आपसी झैझगडामा व्यस्त देखिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x