काठमाडौं । अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी हुने भएकी छिन्।
उनी मंगलबार यो फेस्टिभलमा सहभागी हुन जाँदैछिन्।
उनले सामाजिक सञ्जालमा आफूले अभिनय गरेको बेल्जियन फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छनौट भएको जानकारी दिँदै मंगलबार कान्स प्रस्थान गर्न लागेको जानकारी गराएकी हुन् ।
सुरक्षाका अनुसार ‘दि एट माउन्टेन्स’ शीर्षकको यो फिल्मको बुधबार कान्समा प्रिमियर हुँदैछ । मनाङमा केही अंश सुटिङ भएको यो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी छिन् ।
यो पटक नेपालबाट लघु फिल्म ‘लोरी’को टिम पनि कान्समा सहभागी हुँदैछ । ‘लोरी’ नेपालबाट मुख्य प्रतिस्पर्धामा अफिसियल्ली छनोट हुने पहिलो फिल्म हो । अविनाशविक्रम शाह निर्देशित फिल्मले १ सय ४० देशका ३५ सय बढी फिल्मबाट उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ ले २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ ।
यसैगरि, नेपालबाट कान्समा सहभागी हुन ‘एक मुठ्ठी बादल’को निर्माता÷निर्देशक पनि फ्रान्स पुगिसकेका छन् । सहारा शर्मा लिखित तथा निर्देशित यो फिल्मले भारतको फिल्म बजारमा उत्कृष्ट हुँदै कान्समा पिचिङको मौका पाएको थियो ।
यो फिल्मले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा पनि सहभागी हुने मौका पाएको थियो ।