News

‘कबड्डी ४’ को कीर्तिमान, पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्म

kabaddi four JP2pkBplAf

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। ३ करोडभन्दा धेरै कलेक्सन गर्दै फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले एडभान्स बुकिङबाटै शुरुको दुई दिनमा लगानी सरक्षित गर्ने देखिएको थियो। पहिलो दिनको सबै शो हाउसफूल थियो भने दोस्रो दिन पनि दर्शकको उत्साहजनक उपस्थितिमा फिल्म प्रदर्शन भइरहेको छ। शनिबार फिल्मको पहिलो दिनभन्दा बढी कमाइ गर्ने पक्का देखिएको छ।

करिब तीन करोड बजेटमा बनेको फिल्मले पहिलो दिन नै ३ करोडभन्दा बढी कमाइ गरेको हो। कबड्डी ४ को यो कमाइलाई नेपाली फिल्मका लागि शुभ संकेतको रूपमा हेरिएको छ। कोरोना महामारीपछि पहिलेको लयमा फर्कन समय लाग्ने भनिरहेका वेला कबड्डी ४ ले अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ गर्नुले नेपाली फिल्म निर्माता उत्साहित देखिएका छन्।

बिहीबार राजधानीमा भव्य समारोह गर्दै प्रिमियर गरिएको फिल्मलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म ‘कबड्डी ४’ पछि कबड्डीकै पात्र बमकाजीको कथालाई लिएर ‘मास्टर बमकाजी’ बनाउने तयारीमा निर्माण टोली रहेको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments