काठमाडौं । अघिल्लो वर्षको चैत ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ले आजदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्ने भएको छ। फिल्म असार १ अर्थात आजबाट डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ।
हलमा ठीकै मात्र व्यापार गरे पनि फिल्मले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो। खासगरि फिल्मले अभिनय र प्राविधिक पक्षमा तारिफ पाएको थियो। भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए।
लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल आदि कलाकारको अभिनय रहेको थियो।
महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रविन स्याङबो र सुष्मिता पराजुलीले निर्माण गरेका थिए। सुजन खतिवडा, रुपेश ढुंगाना र नविन ढुंगानाको सह–निर्माणमा बनेको फिल्मलाई उज्वल बस्ताकोटीले छायाँकन गरेका हुन्।