काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ।
बुधबार काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शन हुने भएको छ।
निर्माता शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको फिल्म ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको हो।
‘परस्त्री’ फिल्मको घोषणा गर्दै प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो। अब यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुने भएको छ।
‘के घर के डेरा’ मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय छ। सिंगे लामाको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ।
दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी रहेको छ।