काठमाडौं । ‘प्रेम गीत ३’को हिन्दी भर्जन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले विदेशी फिल्मसरह रहने गरी प्रक्रियामा आएपछि चलचित्र विकास बोर्डले सेन्सरका लागि बुधवार सञ्चार मन्त्रालयमा सिफारिस गरेको हो ।
‘विकास बोर्डले विदेशी फिल्मसरह सिफारिस गर्यो,’ वितरक मनोज राठीले भने, ‘अब फिल्म १५ प्रतिशत विकास शुल्क तिर्ने गरी प्रदर्शनमा आउँछ ।’
विकास बोर्डले भने डब भर्जनलाई नेपाली फिल्म मान्न नसकिने र यदि हिन्दीमा रिलिज गर्ने हो भने विदेशी फिल्मसरह प्रक्रियामा आउन अनुरोध गरेको थियो । हिन्दी भाषामा स्वरांकन गर्दा लिनुपर्ने अनुमति पनि ‘प्रेम गीत ३’ले नलिएको विकास बोर्डको भनाई थियो ।
सरकारले विदेशी फिल्मलाई विकास शुल्कका रूपमा १५ प्रतिशत कर लिँदै आएको छ । यदि ‘प्रेमगीत ३’को हिन्दी भर्जन प्रदर्शनमा आउने हो भने विदेशी फिल्मसरह १५ प्रतिशत कर तिर्ने गरी आउनुपर्ने विकास बोर्डको जवाफ थियो तर निर्माण टीमले यो कुरामा आपत्ति जनाएको थियो । सोही कारण विवाद सिर्जना भएको थियो ।
फिल्मकर्मीहरू समेत तर्क–वितर्क गर्दै २ भागमा विभाजन भएका थिए । ‘प्रेम गीत ३’को नेपाली भर्जन सेन्सर भइसके पनि विवादका कारण हिन्दी भर्जन सेन्सर हुन सकेको थिएन । अन्ततः फिल्म विदेश फिल्मसरह प्रक्रियामा आएको हो ।
प्रक्रियामा आएसँगै विकास बोर्डले सेन्सरका लागि सञ्चार मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिलाई सिफारिस गरेको हो ।
चलचित्र विकास बोर्डले बुधवार सिफारिस गरेको हुनाले सम्भवत ‘प्रेम गीत ३’को हिन्दी संस्करण बिहीवार साँझसम्म सेन्सर हुने चलचित्र जाँच समितिका सदस्य सन्तोषकुमार थापाले बताए ।