
दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ पाँचौँ सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले समीक्षकहरूको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै पाँचौँ सातामा प्रवेश गरेको हो ।
फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले साढे ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले दाबी गरेको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा फिल्मले नेपाली बक्स अफिसबाट २ करोड ६१ लाख ग्रस कलेक्शन गरेको छ । यस्तै, ओभरसिजबाट १ करोड ९७ लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले विश्व बजारबाट ४ करोड ५८ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माताको छ ।
यो फिल्मलाई २ करोड बजेटमा तयार पारिएको समेत निर्माणपक्षले उल्लेख गरेको छ । फिल्मका निर्माताले विश्व बजारबाट आफूहरूले लगानी सुरक्षित गरेको दाबी समेत गरेका छन् । यो फिल्ममा सौरभ चौधरीको लेखन तथा निर्देशन छ ।
दर्शकले ’अगस्त्य च्याप्टर १’ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ । फिल्म ‘अगस्त्य’को च्याप्टर २ लाई सन् २०२६ मा रिलिज गर्ने जानकारी पनि निर्माणपक्षले दिएको छ ।
डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।