
जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, संसारकै महंगो बाइक मानिने हार्ले डेभिडसनमा उनको इन्ट्री सिन खिचिएको छ ।
पूजा बाइकमा चढेर स्टाइलिस अन्दाजमा देखिएकी छन् । यसले उनको एक्सन मुड दर्शाउँछ । रोमान्टिक र चुलबुले भूमिकामा बढी रुचाइएकी पूजा शर्मा पनि आगामी फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् ।
वुझिएअनुसार, फिल्ममा पूजाको इन्ट्री दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन ।
फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।
एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माणपक्ष लागिरहेको छ । यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।



