
आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि राखिएको छ।
यस पोस्टरमा सबै प्रमुख कलाकारहरू आ-आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरको बिच भागमा अभिनेता सिग्देललाई राखिएको छ। अभिनेता शाहले बन्दुक बोकेका छन्। अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छन् भने बराइली जिम्मेवार महिला देखिएकी छन्। लामो कपालमा रहेका अभिनेता खड्का हाफ पाइन्ट (जाँगे) लगाएका छन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन्। उनले यो फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्।
‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। यो फिल्मलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए।
फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। यस फिल्ममा निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म आरआर फिल्मसले वितरण गर्दै छ।