
कुनै समय फिल्म साइन गर्न निकै नै गाह्रो मान्ने नायक प्रदीप खड्का अहिले भने धमाधम काम गर्ने तयारी गरिरहेका छन् । उनको लाइनअपमा ७ वटा फिल्म छन् ।
फिल्म ‘पुजार सार्की’को छायांकन सकेर बसेका प्रदीप अब फिल्म ‘एक्टर’को छायांकनमा ब्यस्त हुने तयारीमा छन् । यसपछि, उनको लाइनअपमा ‘पिताम्बर, ऐरी, एक्लो, लिलिबिली २ र निर्देशक सुदर्शन थापाको फिल्म छ ।
प्रदीप आफ्नो सम्बन्ध विग्रीएका अधिकांश मेकरसँग अहिले सुमधुर सम्बन्ध बनाइसकेका छन् । जसकाकारण, उनीसँग अहिले मेकरले सहजै काम गर्ने वातावरण समेत बनेको छ । सोही कारण उनले निर्देशक थापाको निर्देशन तथा निर्माणमा बन्ने नयाँ फिल्म मंगलबार साइन गरे ।
प्रदीप फिल्म ‘लिलिबिली २’ पनि साइन गर्ने तयारी गरेका छन् । फिल्म ‘लिलिबिली’लाई मिलन चाम्सले निर्देशन गरेका थिए । यो फिल्ममा काम गरेपछि प्रदीप र मिलनको सम्बन्ध पनि बिग्रिएको थियो । तर, अहिले उनीहरुको सम्बन्ध सुमधुर छ । केही दिनमा नै यो फिल्म साइन गर्ने तयारीमा छन्।
प्रदीपले ‘लिलिबिली २’ साइन गरेपछि भने नयाँ फिल्म साइन गर्ने काममा ब्रेक लगाउने छन् । यी सात वटा फिल्मको काम सक्नका लागि प्रदीपलाई करिब २ बर्ष लाग्नेछ ।
गतवर्ष प्रदीपका कुनै पनि फिल्म रिलिज भएन । तर, यो वर्ष उनको ‘पुजार सार्की’को रिलिज मिति पक्का भइसकेको छ । अन्य केही फिल्म पनि यसै वर्ष रिलिज हुने संभावना बलियो छ ।