
नायिका गरिमा शर्मा हाल छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधू’मा अनुबन्धित भएकी छिन् । फिल्मका निर्देशक मिलन चाम्सले नायिका शर्मालाई विशेष भूमिकाका लागि बिहीबार अनुबन्धित गरेका हुन् ।
फिल्म ‘लण्डन टू पेरिस’ रिलिजको दिन नजिकिँदै जाँदा उत्साहित रहेकी गरिमा अब मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा काम गर्न तयार भएकी हुन् । मिलन र गरिमा दुवैले भूमिकाको विषयमा भने केही पनि खुलाएका छैनन् ।
फिल्ममा यसअघि कुसुम शर्माको पनि प्रवेश भएको थियो । फिल्ममा आँचल शर्मा, गरिमा शर्मा र कुसुम शर्मालाई दर्शकले एकसाथ हेर्न पाउने भएका छन् । साथमा फिल्ममा विवेक कर्माचार्य, हिमेश पन्त, सृष्टि खड्का, किरण केसीको पनि मुख्य भूमिका छ ।
फिल्ममा काम गर्ने पक्का भएपछि मिडियासँग कुरा गर्दै गरिमाले भनिन्–‘मेरो भूमिका फिल्ममा विशेष छ । यसका लागि उत्साहित छु । मिलन दाइसँग काम गर्न पाउँदा खुसी लागेको छ ।’
गरिमाले अभिनय गरेको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ पनि असोजको ११ गतेबाट रिलिजमा आउँदै छ ।