
फिल्म ‘घर ज्वाइँ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मको टिजरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम देखाइएको छ ।
यो फिल्मले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने बताइएको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका छन् ।
टिजरले दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई देखाएको छ । शिक्षण पेशामा आबद्ध दयाहाङको पात्रले मिरुनालाई मन पराउँछ । जब बिहेको कुरा गर्न ऊ मिरुनाको घर जान्छ, तब मिरुनाका पिता (शिशिर बाङ्गदेल)ले घरज्वाइँ बस्नुपर्ने सर्त अगाडि सार्छन्, जुन स्वीकार्न ऊ तयार छैन । फिल्मले घरज्वाइँ संस्कृतिको कथालाई उठाएको टिजरले छनक दिन्छ ।
असारको २८ गते प्रदर्शनमा आउने यो फिल्ममा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ ।
फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ । फिल्मको टिजरले दर्शकलाई उत्साह उत्पन्न गर्ने देखिएको छ ।