
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्धामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएका हुन् ।
गौशाला २६ माथि बला त्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले गत पुषमा गरेको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालको फैसला (दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति) तय गरेको थियो ।
यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । गौशाला २६ लाई बालिग ठहर गर्दै सहमतिमै करणी भएको भन्दै उच्च अदालतको सन्दीपको पक्षमा फैसला गरेको हो ।
फैसलामा भनिएको छ, ‘जन्म दर्तालगायतका विभिन्न कागजातअनुसार गौशाला २६ नाबालिग नभएको र सहमतिमै करणी भएको हुन आएको देखिन्छ, यसकारण सन्दीप दोषी नभएको ठहर्छ ।’
बुधबार उच्च अदालतले जिल्ला अदालको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेपछि फिल्मकर्मीहरुले पनि खुसी व्यक्त गरेका छन् । सन्दीपले सफाई पाएपछि फिल्मकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।
हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सन्दीपको एक तस्वीर फेसबुकमा राख्दै बधाई दिएका छन् भने अभिनेता तथा निर्माता रमेश उप्रेतीले ‘अन्ततः सिंह फर्कियो’ भन्दै स्टाटस लेखेका छन् । अर्का कलाकार सन्दीप क्षेत्रीले फेसबुकमा ‘क्लिन एन्ड क्लियर’ भन्दै सन्दीपको जीतमा खुसी व्यक्त गरेका छन् । यस्तै, गायक तथा अभिनेता राजेशपायल राईले पनि उनलाई बधाई दिएका छन् ।
अभिनेता तथा निर्माता गजित विष्टले ‘यो देशमा न्याय मरेको छैन’ भन्दै सन्दीपलाई निर्दोष सावित भएकोमा बधाई दिँदै फेसबुकमा स्टाटस लेखेका छन् । कलाकार तथा निर्देशक शिवहरी पौडेल, महिला निर्देशक समुन्द्र भट्ट, गायक स्वरुपराज आचार्य, निर्देशक शिवम् अधिकारी, कलाकार तथा ट्रेलर मास्टर साहिल खान लगायतले पनि सन्दीप निर्दोष ठहर भएकोमा खुसी व्यक्त गरेका छन् ।
यस अघि २०७९ भदौ ५ , मा गौशला २६ ले बलात्कार गरेको आरोप लगाउँदै सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसबेला सन्दीप भने क्रिकेट खेल्न विदेशमा थिए । २० असोजमा नेपाल आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । र, जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत, पाटनले पुष २९ मा सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।