दीपक र जितुको फिल्म एकै दिन रिलिज हुँदै, कसले मार्ला बाजी ?

वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’ आगामी असोज २४ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बडा दशैंको अवसर असोज २४ गते फूलपातीको दिन फिल्म रिलिज गर्न लागेको हो । फिल्मको हाल धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । फिल्ममा उनको अपोजिटमा निती शाह छिन् । फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातीमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
यो फिल्म काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
असाेज २४ गते नै फिल्म ‘छक्का पञ्जा–५’ पनि रिलिज हुँदै छ । ‘छक्का पञ्जा–५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । फिल्ममा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकार छन् ।
दुवै फिल्म एकै दिन रिलिज हुँदा बक्सअफिसमा जितु नेपाल र दीपकराज गिरीको भिडन्त हुने भएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।