
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग फिल्मका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ ।
त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।
बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ ।
शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ ।
भिडियोमा विजयसँगै फिल्मका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन् । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
थिम पोस्टरले नै उत्सुकता जगाएको फिल्मको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ । टिजरले नै प्रतिक्षित बनाएको फिल्मको गीत पनि मर्मस्पर्शी रहेको छ । गीतले बुवा र छोराको सम्बन्धको कथालाई थप देखाउने प्रयास गरेको छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।