
सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित फिल्महरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।
फिल्मको टिजर सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुन्छ । टिजरमा फिल्मका दुई मुख्य पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको दृश्य देखाइएको छ । टिजरले ग्रामीण परिवेशको कथा उजागर गरेको छ, जसले एउटा परिवारलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने संकेत गर्दछ ।
‘श्री बुकुरो: द होम कलिङ’ फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो । यसमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्माको अभिनय रहेको छ।
फिल्मको निर्देशन सुदीप भुपाल सिंहले गरेका छन् भने लेखन पनि उनले नै गरेका छन्। निर्माणमा रुबी सेन सिंह संलग्न रहेकी छिन्। फिल्मको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। फिल्मको सुन्दर दृश्य मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको छ।
फिल्मका गीतहरूमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ। निर्देशक सिंहका अनुसार, फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने तयारी भइरहेको छ।
‘श्री बुकुरोस्: द होम कलिङ’ पारिवारिक कथा र ग्रामीण जीवनशैलीमा आधारित फिल्म भएकाले दर्शकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।