Todays Date: २०८३ जेष्ठ १२

‘द भ्वाइस अफ नेपाल–६’ मा ‘बर्जर’ खुट्टाले थिच्दा खेम सेन्चुरीको आलोचना

khem

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–६’ प्रशारण सुरु भइरहेको छ । शोको हाल ‘ब्लाइन्ड अडिसन’ चरणमा कोचहरुको चयन प्रक्रिया चलिरहेको छ । यस सिजनमा कोचहरुमध्ये नयाँ अनुहारका रुपमा गायक खेम सेन्चुरी प्रवेश गरेका छन् । तर, शोको दोस्रो भागमै सेन्चुरीको गतिविधिले सामाजिक सञ्जालमा चर्को आलोचना निम्त्याएको छ।

गायिका इन्द्रकला राईले आफ्नो प्रस्तुति दिएपछि उत्साहित भएका सेन्चुरीले कुर्सीमा उभिएर ‘बर्जर’ (बटन) खुट्टाले थिचेका थिए। अन्य कोचहरुले हातले बर्जर थिच्ने सामान्य प्रचलनका विपरीत सेन्चुरीको यो कदमलाई शिष्टाचारको उल्लङ्घन भन्दै आलोचना भइरहेको छ।

यो घटनापछि सामाजिक सञ्जालमा सेन्चुरीप्रति मिश्रित प्रतिक्रिया आएका छन्। कतिपय दर्शकले उनको यो कार्यलाई शोको गरिमामाथि धक्का पुगेको बताएका छन् भने केहीले पहिलो पटक कोच बनेकाले उत्साहका कारण यस्तो भएको हुनसक्ने भन्दै सहानुभूति प्रकट गरेका छन्।

‘द भ्वाइस अफ नेपाल’को प्रमुख आकर्षण ‘बर्जर राउण्ड’लाई विशिष्ट मानिन्छ। शोको गरिमा जोगाउन कोचहरुले व्यवहार र कार्यमा ध्यान दिन आवश्यक छ। यस्ता घटनाले रियालिटी शोको प्रतिष्ठामा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले आगामी एपिसोडमा कोचहरुले आफूलाई थप अनुशासित बनाउनुपर्ने देखिन्छ।

खेम सेन्चुरीले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, यो घटनाले आगामी एपिसोडहरुमा कोचहरुको कार्यशैलीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x