News

‘लाज शरणम्’ लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट, रिलिजमा देखिएको अन्योल समाप्त

laj sharanam
IMG 20250223 WA0003

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिचर फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार फिल्मको जाँच भएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार फिल्मलाई सर्टिफिकेट प्रदान गरेको हो ।

फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको छ । अब यही महाशिवरात्रि अर्थात् फागुन १४ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । फागुन ६ गते उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिँदासम्म ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । जसले गर्दा फिल्मको रिलिज नै अन्योल बनेको थियो ।

जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले वारेसमार्फत फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले सेन्सरअघि फिल्मको प्रचार नगर्न आदेश दिएपछि फिल्मको भविष्य सेन्सर बोर्डको हातमा थियो । अन्ततः बोर्डबाट फिल्मले प्रदर्शनको अनुमति पाएको छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । सेन्सर पास भएसँगै आइतबार दिउँसो ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्मको दुईवटा प्रमोसनल गीत भने सार्वजनिक भइसकेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments